काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले शनिबार (आज) दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा खेल राति पौने ८ बजे सुरु हुनेछ ।
बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–२ को बराबरी खेलेको नेपाली टोली आजको खेल जित्न चाहन्छ । उता भारत भने घरेलु मैदानमा नेपाललाई हराउन चाहन्छ ।
पहिलो मैत्रीपूर्ण खेल रोमाञ्चक बराबरी भएको थियो । खेलको ८९ मिनेटसम्म २–० ले पछि परेको नेपालका लागि मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएकी थिइन् ।
खेलको अतिरिक्त समयमा सावित्राले अर्को गोल थप्दै नेपाललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिइन् ।
गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराएको थियो ।
नेपाली टोली भारतकै आग्रहमा २ मैत्रीपूर्ण खेल खेल्न त्यहाँ गएको हो ।
भारतले नेपालसँगको मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोटका रुपमा लिएको छ। ओलम्पिक छनोट आगामी अप्रिलमा हुनेछ ।
नेपालले पनि ओलम्पिक छनोटको पहिलो चरणमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको समूह सी मा छ । उता भारत भने तुर्केमिनिस्तान र किर्गिस्तान रहेको समूह जी मा छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google