काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोाणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा जितका लागि नेपालले ३ सय ११ रनको विशाल लक्ष्य पाएको छ ।
नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो । लिग २ मा नेपाललाई ३ सय रनको विशाल योगफल दिने युएई पहिलो टोली हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको थियो ।
छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए । युएईका आशिफ खान १०१ रनमा नटआउट रहे ।
विस्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने ।
ओपनर आयान लाक्रा ६ रनमा आउट भए। कप्तान मुहम्मद वसिम ६३ रनमा एलबीडब्लु धरापमा परे । ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले पवेलियनको बाटो देखाए ।
चुन्दनगापोयिल रिजवान ३ रनमा क्याच आउट भए । रोहन मुस्तफा २० रन बनाउदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे ।
नेपालका दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए । ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे । कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे।
दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए । सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट आफ्नो नाममा गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google