नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई आरआरबीएल–ईशान कपकाे उपाधि

दर्पण दैनिक ६ चैत्र २०८०,०९:१५
post

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–ईशान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित गर्यो । एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार रुपैयाँ पुरस्कार पायो । आयल निगमले ३० हजार रुपैयाँ हात पारेको छ । 


आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोस्रो पटक पटक हो । दोस्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो । पहिलो संस्करणको उपाधि एभरेस्ट बैंक लिमिटेडले जितेको थियो । सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेस्रो भयो । 

नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो । रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल   गरे । नेपाल बैंकले २० हजार रुपैयाँ पुरस्कार पायो । प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने । 

एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए । राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको उपाधि हात पार्यो । विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्र रमन खनाल, ईशानका अध्यक्ष राम विनय श्रेष्ठ, तत्कालीन पेस्डानका अध्यक्ष कुलप्रसाद आचार्यलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।


तीन दिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ईशान स्थापना भएपछि संस्थाको यो पहिलो खेलकुद प्रतियोगिता हो । ईशानअघि यो संस्था सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को नाममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता थियो । 


नयाँ खेलकुद ऐन अनुसार पेस्डान राखेपमा नवीकरण गर्न नमिल्ने भएपछि आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिने उद्देश्यसाथ ईशानलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको हो । पेस्डानले विभिन्न खेल समावेश गरी १३ औँ संस्करणको खेलकुद प्रतियोगिता आयोजना गरिसकेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: