काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा कतारलाई हराएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित हासिल गर्दै एक खेलअगावै अन्तिम चारमा स्थान बनाएको हो । कतारले दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।
ओपनर काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् । ओपनर सीता राना मगर १७ र इन्दु बर्मा २० रनमा नटआउट रहे ।
त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल तयार पारेको थियो ।
साची धडवालले बनाएको २१ रनको कतारका लागि सर्वाधिक रह्यो। एलिना खान १५ रनमा रनआउट भइन् । नेपालकी इन्दु बर्मा एक्लैले तीन विकेट लिइन्। पूजा महतो र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे ।
नेपालले यसअघि समूह चरणको पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार यूएईसँग खेल्नेछ। यो खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google