यूएई विरुद्ध शानदार जित निकाल्दै  नेपाल अंक तालिकामा एक स्थान उक्लियो

दर्पण दैनिक २२ फाल्गुन २०७९,१९:२७

अब नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन बाँकी चारै खेल जित्नुपर्नेछ । लिग-२ अन्तिम त्रिदेशीय श्रृङ्खलामा फागुन २५ गतेदेखि नेपाल, यूएई र पपुवा न्युगिनी भिड्नेछन् । त्रिदेशीय श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

post

काठमाडाैं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ । त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो। नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४५ ओभरमा १८७ रनमै समेटिएको हो ।

यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालको खराब शुरूआत रह्यो । नेपालले ६८ रनमै पाँच विकेट गुमाएको थियो । ज्ञानेन्द्र मल्ल ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल एक र दीपेन्द्रसिंह ऐरी चार रन बनाएर आउट भए ।

त्यसपछि भीम सार्कीले सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे। लामिछानेले २७ रन बनाए । यस्तै, सार्कीले आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरेर नेपालका लागि सम्मानजनक स्कोर बनाए । उनले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन बनाए ।

जसले गर्दा नेपालले आठ विकटको क्षतिमा २२९ रन बनाएको हो । त्यस्तै, नेपालका लागि आरिफ शेखले ४३, करण केसीले १७ र प्रतिश जीसीले ११ रन बनाए ।

यूएईका लागि जुनैद सिद्दीकीले तीन, रोहन मुस्तफा र आर्यन लक्राले दुई-दुई तथा केपी मयप्पनले एक विकेट लिए ।

नेपालको जितमा भीम सार्की र दीपेन्द्रसिंह ऐरी नायक बने। नेपालको पारी लरखराइरहेको वेला सार्कीले सम्हालेका थिए। उनी प्लेयर अफ द म्याच पनि भए ।

त्यस्तै, यूएई जित नजिक पुगिरहेका वेला ऐरीले ‘ब्रेक’ दिएका थिए। यूएईका प्रारम्भिक ब्याटर आसिफ खान ८२ रन बनाएर क्रिजमा जमिरहेको वेला ऐरीले ४२औं ओभरको दोस्रो बलमा आफैले क्याच आउट गरेका थिए ।

त्यससँगै खेल नेपालको पक्षमा मोडिएको थियो । त्यस लगत्तै अर्को बलमा उनले कार्थिक मयप्पनलाई क्याच आउट गरेका थिए ।

यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। नेपालको ३२ खेलमा ३२ अंक भएको छ ।

त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ ।

यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ। यूएईको ३२ खेलमा ३१ अंक छ ।

अब नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन बाँकी चारै खेल जित्नुपर्नेछ । लिग-२ अन्तिम त्रिदेशीय श्रृङ्खलामा फागुन २५ गतेदेखि नेपाल, यूएई र पपुवा न्युगिनी भिड्नेछन् । त्रिदेशीय श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: