नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा, कसले कति रन बनाए ?

दर्पण दैनिक १२ माघ २०८०,२१:१६
post

काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो । त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे । दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए । दीपक बोहरा ४२ बलमा ४ चौकासहित २७ रनमा आउट भए । टिमलाई जितको लागि ६ रन चाहिँदा दीपक बोल्ड आउट भएका थिए । आकाश चन्द १ रनमा आउट भए । सुवास भण्डारी २९ बलमा १ चौकासहित ९ रनमा नट आउट रहे ।

अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २-२ विकेट लिए । अरब गुल र घजान्फरले १-१ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।

एक समय अफगानिस्तान २०.३ ओभरमा ८८-८ को अवस्थामा पुगेको थियो ।
नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए । नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए ।

फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए । नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे ।

त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए । आकाशले २० रन बनाएका हसन इशाखिललाई दीपेशबाट क्याच गराए । उनले ३५ बलमा ४ चौका हानेका थिए । नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए ।

सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: