नेपाली राजदूत ढकाल र स्पेनिस ला लिगाका अध्यक्षबीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल

दर्पण दैनिक २३ फाल्गुन २०८०,१७:३८
post

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानोबीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।  भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदूत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताव राखेका थिए । 

मड्रिडस्थित ला लिगाको मुख्यालयमा मंगलबार झन्डै एक घण्टा भएको भेटका क्रममा राजदूत ढकालले ला लिगाका अध्यक्ष मेड्रानोलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । 

'उहाँ नेपाल भ्रमणका लागि निक्कै उत्साहित हुनुहुन्छ । उहाँको नेपाल भ्रमण चाँडै सम्पन्न हुनेछ । नेपाली फुटबलको विकासका लागि सहकार्य गर्न ला लिगाका तर्फबाट उहाँले तत्परता जनाउनुभएको छ,' राजदूत ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'ला लिगाको चाहना समग्र नेपाली फुटबलको विकासमा सहकार्य गर्ने छ । तथापि महिला फुटबलमा सहकार्य अलि बढी केन्द्रित गर्ने उहाँको इच्छा छ ।'

राजदूत ढकालका अनुसार भेटमा नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने तथा नेपाली फुटबललाई प्राविधिक रूपमा सशक्त बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 

'खेलकुदको माध्यमबाट नेपालमा सकारात्मक सन्देश प्रवाह गर्नु जरुरी छ । देश निर्माणको अभियानलाई सार्थक बनाउन युवाहरूलाई सक्रियतापूर्वक खेलकुदमा सहभागी गराउनुपर्छ । समाजलाई स्वस्थ र रचनात्मक तथा विकासको बाटोमा अगाडि बढाउन खेलकुद निक्कै महत्त्वपूर्ण क्षेत्र हो,” राजदूत ढकालको विज्ञप्तिमा उल्लेख छ, “यसकारण हामीले स्पेनबाट फुटबलसँगै अन्य खेलमा सहकार्य र सहयोगको प्रयास गरिरहेका छौँ । तर फुटबलमा स्पेनको स्तर निक्कै माथि रहेकाले यो सहकार्य फलदायी हुने हामीले विश्वास लिएका छौँ ।'

नेपालमा स्पेनिस फुटबलको ‘फ्यान बेस’ निक्कै राम्रो भएको कारण पनि ला लिगा सहकार्यका लागि उत्साहित भएको राजदूत ढकालको बुझाइ छ । 

भेटका क्रममा ला लिगाका अध्यक्ष मेड्रानोले भौगोलिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि निक्कै राम्रो ठाउँ भएको बताउँदै निकट भविश्यमै सहकार्यको थालनी गरिने बताएका थिए । सो क्रममा अध्यक्ष मेड्रानोले राजदुत ढकाललाई ला लिगाको आधिकारिक बल उपहार दिएका थिए । स्पेनस्थित नेपाली राजदूतावासको पहलमा गत वर्ष त्यहाँको दोस्रो डिभिजनको क्लब कासेरेन्यो एफसीले दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: