अलपत्र रहेको रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा प्रदेश सरकारले लगानी गर्ने

दर्पण दैनिक ८ चैत्र २०७९,१७:३५
post

जनकपुर । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले लामो समयदेखि अलपत्र रहेको जनकपुरधामस्थित रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि लगानी गर्ने घोषणा गरेका छन् । 

जनकपुरधाम उपमहानगरपालिका– १४, रजौलस्थित निर्माणाधीन रंगशालाको बुधबार निरीक्षण गर्न पुगेका मुख्यमन्त्री यादवले यस्तो घोषणा गरेका हुन् । जनकपुरधाम मधेस प्रदेशको राजधानी रहेको बताउँदै मुख्यमन्त्री यादवले रंगशाला निर्माणमा प्रदेश सरकारले ५० देखि १ सय करोडसम्म लगानी गर्ने बताए ।

जनकपुरधाम भम्रणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर विकासका लागि दिने १ अर्ब रुपैयाँ अहिलेसम्म नआएको बताउँदै मुख्यमन्त्री यादवले भने, ‘मोदीजीले घोषणा गरेको पैसा अझै आएको छैन, पछिल्लो सरकारले उक्त पैसाले धर्मशालासहितको भवन निर्माण गर्ने योजना बनाएको थियो । तर, पैसा आएन । अब त्यो पैसा रंगलाशा निर्माणकै लागि पहल गर्छु ।’ उक्त पैसाले पनि नपुगेको खण्डमा प्रदेश सरकारले थप ५० देखि १ सय करोडसम्म आफ्नो लगानी गर्ने मुख्यमन्त्री यादवले बताए ।

रंगशालाको निर्माण कार्य अगाडि बढाउने विषयका राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङसँग छलफलसमेत भएको बताउँदै मुख्यमन्त्री यादवले भने, ‘खेलकुदकै माध्यमले विश्व रंगमंचमा नेपाललाई चिलाउन सकिन्छ, त्यसकारण अब रंगशाला निर्माणमा प्रदेश सरकारपछि हट्ने छैन ।’ 

मुख्यमन्त्री यादवले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममै हुने लिखित सम्झौता राष्ट्रिय खेलकुद परिषद्‌सँग भइसकेको उनले बताए । ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममा गर्नका लागि एक कार्यदलसमेत गठन भएको उनले बताए । खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा मधेसका आठवटै जिल्लाका प्रमुख र पालिकाका प्रतिनिधि सदस्य रहने गरी सो कार्यदल बनाइएको उनले बताए ।

यता, उक्त रंगशाला निर्माणका लागि रंगशाला अभियन्ता दिनेश पुर्वेले २०६७ सालदेखि नै सक्रिय छन् । उनकै पहलमा २०७४ सालमा गुठी संस्थान र राष्ट्रिय खेलकुद परिषद्बीच वार्षिक ९ लाख भाडा दिने गरी लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिने सम्झौता भएको थियो । 

रंगशालामा क्रिकेट, फुटबल, हक्की, भलिबल, स्विमिङसहितका खेलकुद एकैसाथ खेल सक्ने गरी रंगशालाको निर्माणका लागि आफू लागेको अभियन्ता पुर्वेले बताए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: