ज्ञानेन्द्रको व्यवस्थापनमा अब्बल बन्दै वाणीविलास

सन्तोष दहाल ९ श्रावण २०८०,०९:४२

विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्नुमा पढाई राम्रो भएको, शिक्षक, प्रशासन, व्यवास्थापन समिति, शिक्षक अभिभावक संघको टीमवर्क उत्कृष्ठ रहेको र विशेष गरी विद्यालयभित्र राजनीति नहुनु नै रहेको अध्यक्ष महर्जन दावी गर्छन ।

post

सन्तोष दहाल, ललितपुर ।  सरकारले सामुदायिक शिक्षामा वर्षेनी ठुलो मात्रामा लगानी गरे तापनि सोअनुसारको प्रतिफल सामुदायिक विद्यालयमा देखिएको पाइदैन । देशका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा त पछिलो समय विद्यार्थी संख्या समेत नियमित रुपमा घट्दै जाँदा अधिकांश विद्यालयहरु बन्द हुने स्थितिमा समेत रहेका पाईन्छन ।  

विशेष गरी २०७२ सालको महाभूकम्प पश्चात दक्षिण ललितपुरका पहाडी गाउँका मानिसहरु चापागाउँ, गोदावरी, धापाखेल लगायतका काँठ क्षेत्रहरुमा बसाइ सरी आएपछि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या घटे ।  कतिपय स्थानहरुमा त बसाईंसराईले गर्दा  बस्ती नै रित्तिएको अवस्था समेत छ।  यसले गर्दा आधारभूत तहमा अध्यापन गराउने विद्यालयहरुमा विद्यार्थी संख्या घट्ने र रित्तिने अवस्थामा पुगेका छन् । 

त्यसका कारण बजार क्षेत्रमा रहेका विद्यालयहरुमा विद्यार्थी संख्या अधिकांश छ ।  राम्रो कमाईधमाई भएका अभिभावकले आफ्ना बच्चाहरुलाई महँगो शुल्क तिरेरै नीजि  विद्यालयहरुमा पढाएका छन् भने कम र न्यून आर्थिक स्थिति भएका मजदुरी गर्नेहरुले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीहरुलाई भर्ना गरेका छन् । यही परिपाटी विकसित हुँदै जाँदा सामुदायिक विद्यालयमा भन्दा नीजि विद्यालयमा महँगो शुल्क तिर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने मानसिकता आम विद्यार्थी तथा अभिभावकहरुमा पर्न गएको छ । 

सरकारको नीति सामुदायिक विद्यालयको शिक्षा नै गुणस्तरीय बनाउने र सामुदायिक विद्यालयप्रति नै विद्यार्थी र अभिभावकको आकर्षण बढाउने छ । तर अहिले व्यवहारमा यसको ठिक उल्टो छ । यसका कारणहरुमा सामुदायिक विद्यालयमा शिक्षक तथा शैक्षिक अभियानता र शिक्षासेव हरुले नै आफ्ना बालबालिकाहरुलाई नीजि विद्यालयमा पढाउनु प्रमुख हो । जसलाई शिक्षकहरुलाई नै आफ्नो अध्यापन शैलीप्रति विश्वास नभएको रुपमा लिन सकिन्छ । 

यद्यपि कतिपय सामुदायिक विद्यालयहरुले एकदमै मेहनत गरेर सामुदायिक शिक्षालाई गुणस्तरीय बनाउदै नीजि विद्यालयकै अनुसारको नतिजा ल्याउन सफल भएका उदाहरण पनि नभएका होइनन् ।  यसैमध्येको एक अब्बल विद्यालय हो, गोदावरी नगरपालिका ११ मा अवस्थित वाणीविलास माध्यमिक विद्यालय । २०१७ सालमा स्थापना भएको वाणीविलास माध्यमिक विद्यालयले आफ्नो स्थापनाको  ६ दशक भन्दा बढी समय पार गरिसक्दा हजारौं शैक्षिक जनशक्ति उत्पादन गरिसकेको छ । 

नगरपालिकाभित्रका अन्य सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या न्यून भईरहे तापनि वाणीविलासमा हाल ७ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यहाँ ६० प्रतिशत भन्दा बढी विद्यार्थीहरु दक्षिण ललितपुर बाट नै आएका छन्। अभिभावकविहीन र गरीब परिवारका विद्यार्थीहरु पनि यस विद्यालयमा अध्ययनरत छन् । त्यस्ता विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नका लागि विद्यालयमा अक्षयकोष पनि स्थापना भएका छन् । ऐतिहासिक प्याङ्गगाउँको मध्य भागमा अवस्थित विद्यालयले अन्य नीजी विद्यालय सरहकै गुणस्तरको शिक्षा प्रदान गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जन बताउछन् ।  २ वर्ष अघि आफू विद्यालय व्यवस्थापनको नेतृत्वमा आए पछाडी स्थानीय ठाउँकै विद्यालयको अवस्था सुधार्न रातदिन सक्रिय भएर लागिपरेका महर्जन यसबीचमा भौतिक संरचना संगै शिक्षण सिकाई विधि र शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार आएको महर्जनको दावी छ । 

कक्षा ६ भन्दा माथि एउतै कक्षामा ६० भन्दा बढी विद्यार्थी भएपछी एउतै कक्षामा राखेर अध्यापन गराउन गाह्रो भएकाले अहिले सेक्सन ब्रेक गराएर सहजताका साथ पढाउन थालिएको छ ।  'विगतमा धेरै विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर गुन्द्रुक खाँदे जसरी अध्यापन गराउँदा कापी जाँच्दा मात्र एक पिरियड शिक्षक शिक्षिकाको जान्थ्यो ।  अहिले सेक्सन ब्रेक गरेपछि धेरै राम्रो भएको छ' उनले भने। 

कक्षा ५ सम्म अध्ययन अध्यापनको लागि स्वीकृत प्राप्त यस विद्यालय एसइई प्रस्तावित विद्यालय हो। जसले गर्दा हाल शिक्षकहरुको संख्या पर्याप्त छैन ।  हाल १८ जनाको शिक्षक दरबन्दी रहेको विद्यालयमा शिक्षक तथा कर्मचारी  व्यवस्थापन गर्नको लागि विद्यालयले निर्माण गरेको भवनको शटर भाडामा दिएर स्रोत जुटाउने तयारी भईरहेको महर्जनले बताए । शिक्षा नियमावली अनुसार १ शिक्षकले ५ दिनको कक्षाभन्दा बढी लिन नपर्ने भए तापनि खाली पिरियडमा रहेका शिक्षकलाई एक पिरियड बराबर १०० रुपयाँ थप भत्ताको व्यवस्था विद्यालयले गरेको छ । उक्त अतिरिक्त कक्षामा कोर्स मात्र नभई अतिरिक्त ज्ञानका कुराहरु समेत शिक्षकले सिकाउन सक्नेछन । 

शटर भाडामा दिएर स्रोत व्यवस्थापन गर्ने २ वर्ष अघिदेखिको योजनाको विषयमा केही नकारात्मक प्रचार भएर अख्तियारको टोली विद्यालयमा आएको थियो । अध्यक्ष महर्जन भन्छन, ' उहाँहरुलाई मैले प्रष्ट रुपमा रोक्ने हो भने पत्र पठाउनोस, म राजिनामा दिएर छोड्छु, त्यसै छोड्दिन, पत्रकार सम्मेलन गरेर छोड्छु भनेँ। अनि उहाँहरुले यथार्थ बुझेपछि यस्ता सानातिना कुरा आउँछन, तपाइँहरु काम अगाडी बढाउनुहोस भनेर जानुभयो । 'उनका अनुसार शिक्षा नियमावलीमा सामुदायिक विद्यालयले भाडामा दिने विषयमा केही उल्लेख नगरे तापनि कक्षाकोठा पुग्छ भने  आन्तरिक श्रोत वृद्धिका लागि दिनसक्ने  कुरामा आपत्ति हुँदैन ।  

व्यवस्थापन समितिमा ज्ञानेन्द्र महर्जन नियुक्त भएपछी विद्यालयमा आइसिटी ल्याब, कम्प्युटर सेक्सन, विज्ञान प्रयोगशाला,प्रोजेक्टर मार्फत सिकाई, स्मार्ट टिभी जडान जस्ता उल्लेख्य काम भएकोले गर्दा शैक्षिक गुणस्तर सुधारिएको र विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण थप बढेको छ। ५ कक्षासम्म स्मार्ट टिभीमार्फत र कक्षा ६ भन्दा माथि प्रोजेक्टर मार्फत सिकाई हुने व्यवस्था गरिएको छ ।  यसैगरी हलमा स्मार्ट बोर्डको पनि व्यवस्था छ ।  विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्नुमा पढाई राम्रो भएको, शिक्षक, प्रशासन, व्यावास्थापन समिति, शिक्षक अभिभावक संघको टीमवर्क उत्कृष्ठ रहेको र विशेष गरी विद्यालयभित्र राजनीति नहुनु नै रहेको अध्यक्ष महर्जन दावी गर्छन । महर्जन अध्यक्ष भएपछी नैविद्यालयको सुधार र प्रगति थप द्रुत गतिमा अघि बढेको विद्यालयका प्रधानाध्यापक प्रविण प्रकाश श्रेष्ठ बताउछन । 'नजिकैको  स्थानीय व्यवस्थापन समितिको नेतृत्वमा हुनुहुन्छ, उहाँलाई यहाँको माया नै छुट्टै छ, हररात विद्यालयलाई राम्रो बनाउन लागिरहनुभएको छ ।  यसले गर्दा हामी धेरै खुसी छौं। ' प्रधानाध्यापक श्रेष्ठले भने । 

विद्यालयका सल्लाहकार चरसुन्दर महर्जन पनि हालको व्यवस्थापन समितिको कार्यसम्पादन बाट आफू सन्तुष्ट रहेको बताए ।  विगत २ वर्षभित्र विद्यालयको भौतिक र शैक्षिक गुणस्तरको मामलामा ठुलो फड्को मारेको उनको भनाई छ । भौतिक निर्माणतर्फ पनि विद्यालय भवन ट्रस्ट निर्माण भएका छन् । वाणीविलास स्कुल आवश्यक जग्गाको मापदण्ड नपुगेकोले नमुना विद्यालयको रुपमा घोषणा हुन सकिरहेको छैन ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: