प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी

दर्पण दैनिक २४ श्रावण २०८३,११:२३
post

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थीहरू इन्जिनियरिङको प्रमाणपत्रसँगै अनुसन्धान, प्रविधि र समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रामा निस्किएका छन् । कलेजले आयोजना गरेको विदाइ तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा विभिन्न इन्जिनियरिङ विधाका विद्यार्थीलाई विदाइ गर्दै उनीहरूले हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरिएको छ ।

कलेजले २०२० ब्याचका ब्याचलर अफ सिभिल इन्जिनियरिङ (डिप्लोमा होल्डर) तथा २०२१ ब्याचका सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका विद्यार्थीलाई विदाइ गरेको हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै विषयगत दक्षता, अनुसन्धान तथा परियोजनामा गरेको कामलाई समेत सम्मानको आधार बनाएको थियो ।

कार्यक्रममा कम्प्युटर इन्जिनियरिङतर्फ बिष्णु शर्मा ३.९९ सीजीपीएसहित सर्वोत्कृष्ट विद्यार्थी बने । उनले चेयरमेन प्राइड अवार्ड सहित कम्प्युटर इन्जिनियरिङतर्फ प्राेगाम टपर, साइन्स अवार्ड तथा कम्प्युटर साइन्स अवार्ड पनि प्राप्त गरे । उच्च सीजीपीएसहित विभिन्न विधामा उत्कृष्ट हुनुले उनको शैक्षिक उपलब्धिसँगै विषयगत ज्ञान र दक्षता समेत झल्काएको थियो ।

त्यस्तै सिभिल इन्जिनियरिङतर्फ सुजाता बोहरा ३.९७ सीजीपीएसहित प्राेगाम टपर भइन् । उनले मेकानिक्स, प्राेगामिङ, वाटर, स्ट्रक्चर र म्याथम्याटिक्स अवार्ड समेत प्राप्त गरिन् । सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ सृष्टि चौधरी ३.८० सीजीपीएसहित प्राेगाम टपर बन्दा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङतर्फ विजय पौडेल ३.८५ सीजीपीएसहित प्राेगाम टपर भए । उनले कम्युनिकेशन अवार्ड पनि प्राप्त गरे । इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ घृष्णा निरौला ३.३६ सीजीपीएसहित प्राेगाम टपर घोषित भइन् ।

उत्कृष्ट विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन प्राध्यापक राजेशकुमार ठकुरानी, कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसी, कलेज ब्यवस्थापन समिति सदस्य प्राध्यापक सावित्री त्रिपाठी तथा विभागीय प्रमुखहरू लगायतले अवार्ड, प्रमाणपत्र तथा सम्मान प्रदान गरेका थिए । साे अवसरमा कलेजले विभिन्न विषयमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा विद्यार्थीले तयार पारेका विभिन्न अनुसन्धान तथा परियोजनामध्ये उत्कृष्ट परियोजनासमेत घोषणा गरिएको थियो । परियोजनामा ऊर्जा, कृषि, वास्तुकला, जलस्रोत तथा संरचनासम्बन्धी समसामयिक समस्या र तिनको प्राविधिक समाधान खोज्ने प्रयास गरिएको थियो ।

इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका दिपेन्द्र बोहरा, ग्रीष कुमार चौधरी, नेशनराज गडतौला र बशु धमलाले तयार पारेको ‘जीए–एएनएफआईएसद्वारा ट्युन गरिएको पीआईडी प्रविधि प्रयोग गरी इन्डक्सन मोटरको गति नियन्त्रणको परीक्षण तथा परम्परागत प्रविधिसँग तुलना’ शीर्षकको परियोजना उत्कृष्ट घोषित भयो ।

त्यस्तै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका अभिषेक कटवाल, मनिषकुमार यादव र नरेन्द्र भट्टले तयार पारेको ‘सटीक कृषिका लागि एआईओटी आधारित वास्तविक–समय बाली सिफारिस प्रणाली’ परियोजना पनि उत्कृष्ट घोषित भयो । परियोजनाले आर्टिफिसियल इन्टेलिजेन्स तथा इन्टरनेट अफ थिङ्सलाई कृषि क्षेत्रमा प्रयोग गर्ने सम्भावनालाई उजागर गरेको छ ।

आर्किटेक्चर विभागका सगुन कोइरालाको ‘बायोफिलिक रिसोर्ट, गोकर्णेश्वर, काठमाडौं’ शीर्षकको परियोजना उत्कृष्ट घोषित भयो । सिभिल इन्जिनियरिङतर्फ अमृत केसी, मनोज पौडेल, तीर्थ पोखरेल, अमर सेन र विक्रम थापाको ‘कालीगण्डकी नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी जलशास्त्रीय मूल्याङ्कन’ शीर्षकको परियोजनासमेत उत्कृष्ट ठहरियो ।

सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ जेनिश पुरी, मिङमार डोर्जे थोक्करा, निर्जल बोगटी र सन्देश रानाले तयार पारेको ‘विभिन्न रिड्युस्ड भेलेसिटीको प्रभावमा रहने बेलनाकार चिम्नीहरूमा गतिशील प्रतिक्रिया र भोर्टेक्स सेडिङ व्यवहारको सीएफडी आधारित अध्ययन’ शीर्षकको परियोजना उत्कृष्ट घोषित भयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठकुरानीले इन्जिनियरिङ शिक्षा समस्या बुझ्ने र त्यसको समाधान खोज्ने शिक्षा भएको बताए । विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्रले मात्र विद्यार्थी कति सफल भए भन्ने निर्धारण नहुने भन्दै उनले व्यावसायिक जीवनमा हासिल गर्ने सफलता तथा समाज र राष्ट्रका लागि गर्ने योगदानले विद्यार्थीको वास्तविक सफलता निर्धारण गर्ने बताए ।

कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विद्यार्थीले कलेजमा हासिल गरेको ज्ञान र सीप देश तथा समाजको हितमा प्रयोग गर्न आग्रह गरे । भने, कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसीले अध्ययन पूरा गरी व्यावसायिक क्षेत्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई आफूले सिकेको सीपको सही सदुपयोग गर्न अनुरोध गरे ।
कलेज व्यवस्थापन समितिका सदस्य प्राध्यापक सावित्री त्रिपाठीले उच्च शिक्षाका लागि विदेश गए पनि अवसर पाएपछि नेपाल फर्किएर देशकै लागि काम गर्न विद्यार्थीलाई आग्रह गरिन् । विद्यार्थीले व्यावसायिक जीवनमा प्राप्त गर्ने सफलताले कलेजको गौरवसमेत बढाउने उनको भनाइ थियो ।

विदाइ कार्यक्रममा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकलका अर्जुन मण्डल, इलेक्ट्रिकल र कम्युनिकेशनका विजय पाैडेल, सिभिल एण्ड रूरलका आशिष फुयाल,  सिभिल इन्जिनियरिङकी सुजता बाेहरा तथा कम्प्युटर इन्जिनियरिङका अरूणा थापाले अध्ययनका क्रममा कलेजमा बिताएका क्षण, अनुभव र सिकाइ सम्झँदै कलेजबाट प्राप्त ज्ञान तथा सीपलाई व्यावहारिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कलेजले शैक्षिक नतिजासँगै अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक परियोजनालाई प्राथमिकता दिँदै आएको जनाएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजमा आर्किटेक्चर, सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ, ब्याचलर फर डिप्लोमा होल्डर्सलगायतका स्नातक तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: