काठमाडाैँ । आगामी १८ साउनमा ललितपुरको पुल्चोकस्थित द प्लाजामा ग्रान्ड फिनाले आयोजना गरिने सौन्दर्य प्रतियोगिता ‘मिस विभा-मिस ग्रान्ड नेपाल २०२५’ को आवेदन खुला गरिएको छ । प्रतियोगिताका लागि इच्छुक प्रतियोगीहरूले यही ३२ जेठ (मे १५) भित्र आवेदन दिइसक्नुपर्नेछ । विजेताले विश्वकै शीर्ष सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । साथै, विजेताले २५ लाख रुपैयाँ मूल्यबराबरको हीराको ताज धारण गर्ने अवसर प्राप्त गर्ने छन् । उक्त हीराको ताज ओम ज्वेलर्सद्वारा डिजाइन गरिने बताइएको छ ।
सन् २०२० देखि सौन्दर्य प्रतियोगिता ‘मिस विभा’ आयोजना गर्दै आएको उमंग क्रिएसनले प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको धारणा परिवर्तन गर्न सफल भएको जनाएको छ । संस्थाका प्रमुख उद्धव अधिकारीका अनुसार, प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण अवसरहरू प्राप्त गर्ने छन् ।
आवेदनका लागि आवश्यक योग्यतामा कम्तीमा ५ फिट २ इन्च (१५७ सेमी)वा सोभन्दा माथि हाइट भएका १७ देखि २८ वर्षका अविवाहित युवतीहरू हुनुपर्नेछ । मिस ग्रान्ड इन्टरनेसनल’ले 'स्टप द वार एन्ड भायोलेन्स' भन्ने सन्देश बोकेको छ । मिस विभामा व्यक्तित्व विकास, नेतृत्व क्षमता र सञ्चार सीपमा विशेष प्रशिक्षण, फेसन तथा मिडिया क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष सहकार्य, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सफल र सशक्त प्रतिनिधित्व, नेपाली पहिचान र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइने जनाइएको छ ।
यस प्रतियोगितामा ८० भन्दा बढी देशका प्रतियोगीहरू सहभागी हुनेछन् । भव्य आयोजना, मिडिया प्रभाव र सामाजिक सन्देशका कारण यो प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रूपमा चिनिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google