काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बस्दै आएकी नेपाली मोडल अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । नेपालको राष्ट्रिय खेल भलिबल, त्यसमा पनि महिला लिगको फ्रेन्चाइज टिममा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताएको काठमाडौंको भनाइ छ ।
‘एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु,’ अदितीले भनिन् ।
अदितीले केही समयअघि लण्डनमा भएको वर्ल्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल प्रिजेन्टरको भूमिकामा काम समेत गरेकी थिइन्। जहाँ उनले विश्वकै दिग्गज क्रिकेटहरुसँग अन्तर्वार्ता गर्ने र सामाजिक सञ्जालका लागि कन्टेन्टहरु उत्पादन गर्ने काम गरेकी थिइन् ।
मुम्बईमा बसेर आफ्नो काम अघि बढाइरहेकी अदितीले नेपालमा आएर चलचित्र समेत खेलेकी थिइन् । उनले सन् २०१८ मा कृ र २०२३ मा बाबरी फिल्ममा अभिनय गरेकी थिइन् । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google