
चेन्नई । तमिलगा वेत्री कड़गम (टीभीके) का अध्यक्ष सी. जोसेफ विजय थलापतिले आइतबार तामिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन् । यससँगै राज्यमा विगत ६ दशकदेखि जारी दुई प्रमुख द्रविड दलहरू डीएमके र एआईडीएमकेको आलोपालो सत्तामा आउने राजनीतिक वर्चस्वको पनि अन्त्य भएको छ ।
मुख्यमन्त्रीको शपथ लिए लगत्तै विजयले मञ्चमै तीनवटा महत्वपूर्ण जनपक्षीय निर्णयहरूमा हस्ताक्षर गरेका छन् ।
प्रत्येक घरलाई २०० युनिटसम्म बिजुली नि:शुल्क उपलब्ध गराउने, राज्यमा बढ्दो लागूऔषधको समस्या समाधानका लागि हरेक जिल्लामा 'विशेष बल' गठन गर्ने, महिलाहरूको सुरक्षा सुनिश्चित गर्न एक 'स्पेशल टास्क फोर्स' स्थापना गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका हुन् ।
तामिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू स्टेडियममा आयोजित एक विशेष समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त गरेपछि राज्यपालले शनिबार उनलाई सरकार गठनको निम्तो दिएका थिए ।
विजयसँगै टीभीकेका वरिष्ठ नेताहरूसहित ९ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । मन्त्री पदको शपथ लिनेहरूमा 'बुसी' एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी. के. प्रभु र एस कीर्तना रहेका छन् ।
विजयले भारतीय राष्ट्रिय कांग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले नयाँ सरकारलाई आगामी मे १३ (जेठ ३१) सम्ममा विधानसभामा विश्वासको मत हासिल गर्न निर्देशन दिएका छन् । विजयको सरकारलाई कांग्रेससँगै सीपीआई, सीपीआई (एम), वीसीके र आईयूएमएलले पनि समर्थन पत्र बुझाएका छन् ।
हालै सम्पन्न विधानसभा चुनावमा विजयको पार्टी टीभीकेले १०८ सिट जितेको थियो । यद्यपि, विजय आफैँ पेराम्बुर र तिरुची इस्ट दुवै निर्वाचन क्षेत्रबाट विजयी भएकाले उनले एक सिट छोड्नुपर्नेछ, जसका कारण पार्टीको कुल सिट संख्या १०७ कायम हुनेछ ।
नयाँ मन्त्रिमण्डलमा भौगोलिक र सामाजिक सन्तुलन मिलाउने प्रयास गरिएको देखिन्छ । कुल मन्त्रीहरूमध्ये चेन्नईबाट पाँच, पश्चिमी क्षेत्रबाट दुई र दक्षिणी क्षेत्रबाट तीन जनाको प्रतिनिधित्व छ । वर्तमान मन्त्रिमण्डलमा एक महिला र एक दलित (एससी) समुदायका प्रतिनिधि समावेश छन् ।
गत केही दिनदेखि जारी राजनीतिक अन्योल शनिबार साँझ वीसीके र आईयूएमएलले समर्थन दिएसँगै समाप्त भएको थियो, जसले टीभीकेलाई बहुमतको जादुई आँकडा (११८) कटाएर १२० सम्म पुर्याएको थियो । बिबिसी हिन्दीबाट













































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google