भुम्लुका जनताको विश्वास डगमगाउन दिने छैनौं : उपाध्यक्ष दावा लामा

दर्पण दैनिक ३१ जेष्ठ २०८०,२१:२३
post

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित भुम्लु गाउँपालिका साविकका सापिङ, सिम्थली, बेखसिम्ले, चौवास, सल्ले भुम्लु, कोलाँती भुम्लु, फँलाटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी (साबिकका ५,७, ८ र ९ नं. वडा) गाउँ विकास समितिहरुलाई मिलेर बनेको छ । गाँउपालिकाको पुर्वमा चौरी देउराली गाँउपालिका, पश्चिममा मण्डनदेउपुर नगरपालिका र सिन्धुपालचोक जिल्लाको चौतारा सांगाचोक गढी नगरपालिका, उत्तरमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिका र दक्षिणमा पाचखाल नगरपालिका पर्दछन् । यस गाँउपालिकाको उत्तर वाट दक्षिण तर्फ सुनकोशी र ईन्द्रावती जस्ता पसिद्ध नदीहरु वगेका छन् ।  गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रमान तामाङ (दावा लामा) विजयी भएका थिए ।  भुम्लुका १० वटा वडामध्ये नेकपा माओवादी केन्द्रले १, नेकपा एकीकृत समाजादीले १, कांग्रेसले ३ र  एमालेले ५ वटामा वडाध्यक्ष जितेको थियो । निर्वाचन सम्पन्न भएको एकबर्ष पुगिसकेको छ । भारीमतका साथ उपाध्यक्षमा जितेका दावा लामा युवा नेता हुन् । तरुण दलमा रहेर अग्रणी भुमिका खेलेका लामा अब जनताको सेवा गर्ने ठाउँमा पुगेका छन् ।  विगतमा अनौपचारिकरुपमा जनताको सेवा गरेको बताउने लामाले अब भने औपचारिकरुपमा जनताकै काम गर्ने ठाउँमा भएको र गरिरहेको बताएका छन् । प्रस्तुत छ भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा)सँग दर्पण दैनिकले गरेको छोटो कुराकानीः


निर्वाचित भएपछिको एकवर्ष कस्तो रह्यो ?

हामी निर्वाचित भइसकेपछि, गाउँपालिका भित्र रहेका धेरै समस्याहरु देख्यौं, बुझ्न पायौं समाधानको लागि काम पनि गर्यौं । कतिपय गर्दै छौं । काभ्रेका लगभग धेरैजसो गाउँपालिकामा एउटै खालका समस्या रहेको पाइयो । निर्वाचित भएर गाउँपालिका प्रवेश गरेसँगै जनताको अपेक्षा धेरै नै थिए । अझै हामी त युवा भएकै कारण धेरै नै अपेक्षा आममानिसले राखेको पइयो । हामीले चुनावमा आउनु भन्दा अगाडी आफ्नो क्षेत्रबाट गरेको कामले पनि जनताले विश्वास गरेको र धेरै विश्वास गर्दा अपेक्षा पनि धेरै हुने भएकोले जनताको समस्या तथा मागलाई ध्यानमा राखेर काम गरिरहेका छौं । यो एकवर्ष सम्म जनतालाई नै भगवान ठानेर काम गरेका छौं । यो गतिलाई थप बढाउदै र चरणबद्ध हिसाबले प्रभावकारी बनाउदै लाने हाम्रो अभियान छ । 

जनता केन्द्रीत भएर काम गर्ने हाम्रो योजना हो । अरुलाई आरोप लगाउनु भन्दा आफ्नो योजना अनुसार काम गर्नु नै उत्तम हुन्छ । अहिले हाम्रो टीममा पुराना (पुनः चुनाव जितेर आएका) वडाध्यक्षहरु पनि हुनुहुन्छ । नयाँ पुरानाको संयुक्त प्रयासबाट दशवटै वडामा रहेका समस्या तथा सम्भावनाको खोजी गर्ने कार्य गरेका छौं र समस्या समाधानको पहलसमेत गरेका छौं । 
मैले अनुगमनको पाटो पनि हेर्ने गरेको कारण पनि एउटा कुरा भन्नैपर्छ  गाउँपालिकाको रकममा उपभोक्ता समितिले काम गरिरहेका छन्, त्यसमा पनि समस्या छ । निर्माणको काम गर्दा आवश्यक पर्ने दररेटमा समस्या छ । जसको कारण दुर्गमका उपभोक्ता समिति मारमा परेका छन् । 

हामीले एकवर्षमा धेरै कुराको अनुभव गर्न पायौं । जनप्रतिनिधि चाहेरमात्र पनि नहुने रहेछ, त्यसमा कर्मचारी साथीहरुको पनि लगानशीलता अनिवार्य चाहिने रहेछ । कर्मचारी साथीहरु जनताको काममा उत्तरदायी भए र शिक्षकहरु विद्यार्थीको भविष्यप्रति जिम्मेवार भइदिए उल्लेख्य प्रगति गर्न सकिन्छ । कर्मचारी र शिक्षकहरुले पनि आ–आफ्नो स्थानबाट गरिरहनु भएको छ । 

 

फरक फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुँदा काम गर्न कतिको सहज वा अप्ठ्यारो हुँदो रहेछ ?

गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचन अगाडी हाम्रो पार्टीले जुन गठबन्धन गर्यो र हामी मिलेर चुनावमा होमियौं । निर्वाचित भइसकेपछि हामीले पार्टीलाई पछाडी राखेर यहाँका जनताको लागि काम गर्नुपर्छ भन्ने मान्यता अनुसार काम गरिरहेका छौं । हामीले गठबन्धरबाट जितेर आएका साथी भन्दै छुट्टै व्यवहार गर्ने अरुलाई छुट्टै गर्ने गरेका छैनौं । भुम्लुवासीको काम गर्न एकजुट हुनुपर्छ भन्ने साझा धारणा बनाएर सुरुवात देखि नै लागेका थियौं । जनताको काम गर्न हामीबीच खासै मतभेद छैन् । कुनै कुरामा सामान्य मतभेद देखिए पनि छलफलबाट समाधान गर्दै आइरहेका छौं । 

 

भुम्लुका जनताले के कस्ता अपेक्षा गरेका छन् ?

हामी निर्वाचित भएर आइसकेपछि अब हामी जनताको मान्छे भयौं ।  हिजो म पार्टीमा बसेर काम गर्दै गर्दा खुलारुपमा जनताको समस्या बोकेर जहाँ पनि पुग्थे र जसरी पनि काम हुनुपर्छ भनेर कडिकडाउ लाग्थे भने, तर जनप्रतिनिधि भइसकेपछि नीति नियम र प्रक्रिया अनुसार काम गर्नुपर्छ । म स्वयंम चुनाव जितेर आएपछि जनताको अपेक्षा निकै छ । जनताको प्रेसर धेरै छ ।  जनताले घर भित्रको सानो घरझगडादेखि ठुल–ठुला विकास निर्माणका समस्या लिएर आउनुहुन्छ । हामीले सकेजति तुरुन्तै समाधान गर्न पहल गछौं । हामील भन्दा माथिल्लो निकायले गर्ने कामको लागि पहल गरिदिन्छौं । 

आगामी दिनका योजना के के छन् ?

आगामी चार वर्षमा हामीले भुम्लु गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने योजना बनाएका छौं । सबैभन्दा पहिला यहाँको शिक्षा क्षेत्रलाई सुधार गर्ने योजना बनाएका छौं । शिक्षा क्षेत्र जबसम्म सुधार गर्न सकिदैन तबसम्म अरु बिकास जतिनै गरेपनि खासै अर्थ देखिदैन् । अहिले हामीले शिक्षा क्षेत्र सुधार गर्न सकेनौं भने भोलिका दिनमा गाउँमा नयाँ पुस्ता देख्न मुस्किल पर्छ । हाम्रो नीति तथा कार्यक्रममा पनि उत्पादनमा आधारित कृषि क्षेत्र र शिक्षाको गुणस्तर सुधारलाई विशेष प्राथमिकतामा राखेका छौं ।

पर्यटीय क्षेत्रको रुपमा रहेको दोलालघाटमा विशेष पर्यटकीय संरचना तयार पार्न प्रदेश सरकार देखि केन्द्र सरकारसँग पहल गरेका छौं । त्यसको डिपिआर तयार भइसकेको छ । हाम्रो आन्तरिक स्रोत भनेको अहिले आठवटा बगर छ, अब त्यो बगर नरहँदा पनि आन्तरिक स्रोत कसरी बढाउने भन्ने कुरामा योजना बनाइरहेका छौं । बन क्षेत्र र जटीबुडीको लागि पनि काम गरिरहेका छौं । भुम्लुको समग्र विकास गर्न प्रदेश सरकार र संघीय सरकारको राम्रो  सहयोग रहनेमा विश्वस्त छु ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: