१ लाख पच्चीस हजारबाट सुरु गरिएकाे कृषि सहकारीमा शेयर रकममात्रै ५६ लाख ४२ हजार पुग्याे

दर्पण दैनिक १९ फाल्गुन २०७९,१४:०५

२५ जना मिलेर सुरु गरेको यो सहकारी संस्थामा हाल शेयर सदस्यसहित १ हजार पचास जना सदस्य रहेका छन् ।

post

सहकारी एक त्यस्तो संस्था हो जसले सम्बन्धित सरोकारवालासँग सहकार्य गरेर एकअर्कालाई सहयोग गरिरहेको हुन्छ । सहकारीको नीति सिद्धान्त राम्रा छन् । खासगरी सहकारी संस्थाले समाजका आममानिसहरुको पैसासँग प्रत्येक्ष सरोकार राख्ने भएकोले यसको नीतिनियम बलियो बनाइनुपर्छ । वर्तमान समयमा सहकारीहरुले आम जनमानसमा सोचेजस्तो र सकारात्मक सन्देश दिन सकिरहेको छैन । सहरी क्षेत्रमा एउटै घरमा ४/५ वटासम्म सहकारी रहेता पनि उसले सेवग्राहीहरुलाई प्रभावकारी ढंगले सेवा प्रदान गर्न चुकिरहेको देखिन्छ । केही समयअगाडिसम्म शहरकेन्द्रित सहकारी पछिल्लो समयमा गाउँगाउँमा पनि सहकारी संस्था खोल्ने क्रम जारी छ । गाउँमा रहेका सहकारीले केकस्ता सेवा दिइरहेका छन् भन्ने सन्दर्भमा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर ५ मा रहेको लामाजुरा गरीबी निवारण कृषि सहकारी संस्थाका अध्यक्ष ङ्वाङ्छिरी शेर्पासँग दर्पण दैनिकका केशर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

सहकारी सस्था भनेको के हो ? लामाजुरा गरीबी निवारण तथा कृषि सहकारी संस्थाको छोटकरीमा बताइदिनुस न ?

सह र कार्य  दुईवटा शब्द मिलेर सहकारी बनेको हो । सहकारीमा एउटै विचार तथा एउटै उद्देश्य भएका व्यक्तिहरुले मिलेर कार्य गर्ने गर्दछन । लामाजुरा गरीबी निवारण तथा कृषि सहकारी संस्था २५ जना मिलेर डिभिजन सहकारीको कार्यालय उदयपुरको गाइघाटमा २०७२ साल वैशाख १६ गते दर्ता गरेर आधिकारिक रूपमा संचालन गरिएको सहकारी हो ।  सुरुमा लिखुपिके गाउँपालिकाको वडा नम्बर ५ लाई कार्यक्षेत्र बनाएर अगाडी बढेको यो सहकारीले हाल लिखुपिके गाउँपालिका भरिनै कार्यक्षेत्र बनाएका छौँ । २५ जना मिलेर सुरु गरेको यो सहकारी संस्थामा हाल शेयर सदस्यसहित १ हजार पचास जना सदस्य रहेका छन् । 

अन्य ठाँउमा सहकारी भनेको के हो देख्यौं, बुझ्यौ तर आफ्नै ठाउँमा एउटा पनि सहकारी नभएको अवस्थामा अब हामीले नै सुरुवात गर्नुपर्छ भनेर यो सहकारी स्थापना गरिएको हो । १ लाख पच्चीस हजारबाट सुरु गरेको लामाजुरा गरीबी निवारण कृषि सहकारी सस्थाले हाल शेयरतर्फ ५६ लाख ४२ हजार दुईसय छपन्न रुपैयाँ, बचततर्फ ६४ लाख ९६ हजार छ सय बैसठ्ठी, स्थीर सम्पत्तितर्फ २ लाख २७ हजार नौ सय चालीस, जगेडा कोषतर्फ ८ लाख ८१ हजार तीन सय बाईस, ऋण लगानीतर्फ १ करोड ३३ लाख ८७ हजार एक सय तीन र खुद नाफातर्फ १० लाख २१ हजार तीन सय पैसठ्ठी रुपैयाँ जुटाउन सफल भएको छ । 
 


यो सहकारीलाई सफल बनाउन केकस्ता भुमिका निर्वाह गर्नुभयो नि ?

यहाँका मानिसहरूलाई सहकारीको 'स' सम्म पनि थाहा नभएको बेलामा अन्य ठाँउमा सहकारीले गरेका राम्रो काम सुनाएर भिडियो देखाएर सहकारीको विषय बुझायौं । सहकारी भनेको यस्तो संस्था हो भनेर स्पष्ट बुझाएपछि नै यो सहकारीलाई अहिलेको अवस्थासम्म ल्याउन सफल भएका हौं । 

सहकारीले गरेका विभिन्न खालको नकारात्मक कामकुरा पनि नआएका भने होइनन् । सहकारीले त यस्तो पो गर्छ अरे, त्यस्तो पो गर्छ अरे भन्ने खालका कुराले गर्दा पनि सुरुसुरुमा हामीलाई केही गाह्रो भएकै हो । जब लामाजुरा गरीबी निवारण कृषि सहकारीले यहाँका मानिसको मन जित्न सक्यो त्यसपछि नै यो सहकारीले यति धेरै सदस्य बनाउन सफल भएको हो । 


ऋण लगानी कसरी गर्नुहुन्छ ?

अहिलेसम्म हामीले व्यक्तिगत रूपमा नै ऋण प्रवाह गरेका छौँ ।  व्यक्तिगत रूपमा ऋण लगानी दिँदा सहकारीको पद्धति (सिस्टम) छ । सोहीअनुसार दिन्छौं । ऋण चाहियो भनेर निवेदन आउनेबित्तिकै हामीले कोही कसैलाई ऋण प्रवाह गर्दैनौं । हाम्रो सहकारीमा तीन जनाको अनुगमन समिति, ऋण समिति लगायत अन्य उपसमिति छन् । ती समितिहरुले ऋण माग्ने व्यक्तिलाई ऋण आवश्यक छ कि छैन, किन आवश्यक छ, केमा लगानी गर्दैछ भन्ने कुरा बुझी सबै प्रक्रिया पुगेको छ भनेर सिफारिस गरेको खण्डमामात्रै ऋण पाईन्छ । 

सहकारी संचालन गर्दा केकस्ता चुनौतीहरु आउँदा रहेछन् ?

सहकारीसम्बन्धि जनचेतनाको कमि फितलो नीति नियम, लामो समयसम्म ऋण लगानी हुनु र ठुलो पुँजी ऋण लगानी गर्दा रकमको अभाव हुने सहकारीका बारेमा बुझेर सदस्य बनेका र नबुझेर सदस्य बनेका सदस्यहरुबीच तालमेल हुन नसक्ने ऋण लगानी समयमै नउठ्ने जस्ता चुनौतीहरु आउँछन् ।


भावी योजना केके छन् नि ?

भावी योजना सहकारीको मुल्य र मान्यताअनुसार सहकारीलाई व्यवस्थित रुपले शेयरसदस्यलाई व्यवसायमुखी  बनाउने भन्ने हो । त्यस्तै सरकारी तथा गैरसरकारी संघसस्थासँग समन्वय गरेर सहकारीमा आबद्ध सदस्यहरुलाई लाभ हुने खालका कार्यक्रम ल्याउने हो । यस सहकारीमा कार्यरत कर्मचारीलाई सहकारी सम्बन्धि अझ बढी उत्तरदायी बनाउनको लागि तालिम तथा गोष्टिजस्ता कार्यक्रम गर्दै अगाडी बढ्ने हो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: